गुल्मीमा ‘साना किसानको पोसिलो आटो’ बजारमा

 गुल्मीमा ‘साना किसानको पोसिलो आटो’ बजारमा

गुल्मी । गुल्मीमा स्थानीय मकैलाई ब्रान्डिङ गरी बजारमा पठाउने अभियान सुरु भएको छ। मुसिकोट नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था बडागाउँले ‘साना किसानको पोसिलो आटो’ नाममा मकैको आटो बजारमा उपलब्ध गराउन थालेको हो।

यो पहल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा अघि बढाइएको हो।

सहकारीका अध्यक्ष हरि छन्तेलका अनुसार स्थानीय किसानबाट मकै खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङको प्रक्रिया पूरा गरेर बजार पठाइएको हो।

हाल १ किलो आटोको मूल्य १ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। सहकारीले यस उत्पादनलाई नेपालभरका साना किसान सहकारी संस्थामार्फत साथै प्रमुख शहरमा पनि वितरण गर्ने तयारी गरेको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै यसको स्वाद र पोषणको गुणस्तर जनमानसमा प्रस्तुत गर्ने उद्देश्य रहेको सहकारीले जनाएको छ।

गुल्मीका मध्यपहाडी भेगमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकैलाई स्वाद र पोषण दुवै हिसाबले उच्च गुणस्तरीय मानिन्छ।

यस कदमले स्थानीय किसानको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नागरिकस्तरमा ब्रान्डेड उत्पादन पुर्‍याउन ८५ प्रतिशत अनुदानमा प्रशोधन मेसिनरी, लेबलिङ र प्याकेजिङका सामग्री उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले जानकारी दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *