निजी विद्यालयहरूद्वारा आज र भोलि बिदा दिने निर्णय
काठमाडौँ । हालै देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूको सम्झनामा निजी विद्यालयहरू दुई दिनसम्म बन्द हुने भएका छन् ।
निजी विद्यालयसँग सम्बन्धित विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
संगठनहरूले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
साथै, विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको र यस घटनाले शैक्षिक क्षेत्र मात्र नभई समग्र नेपाली समाजलाई नै स्तब्ध बनाएको जनाइएको छ ।
विज्ञप्तिमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ ।
जेनजी आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शनका रूपमा सुरु भए पनि पछिल्ला दिनमा यसले व्यापक रूप लिँदै देशका विभिन्न भागमा दुःखद घटनाहरू निम्त्याएको छ । प्रदर्शनमा सहभागी धेरैजसो युवा र विद्यार्थी भएकाले यस आन्दोलनको असर शैक्षिक क्षेत्रमा समेत प्रत्यक्ष देखिएको छ ।
