उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्ने निर्णय, सामाजिक सञ्जाल खुला

 उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्ने निर्णय, सामाजिक सञ्जाल खुला

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठककाे निर्णयहरु सार्वजनिक गर्ने क्रममा । तस्बिर : मधु शाही / रासस

काठमाडौँ, भदौ २४ गते । सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले जेनजी पुस्ताको प्रदर्शनमा केही स्वार्थ समूहले आफ्नो अभीष्ट पूरा गर्न घुसपैठ गर्दै उच्छृङ्खल एवं अमानवीय कार्य गरेकाले छानबिन गरी कारबाही हुने बताउनुभयो ।

“जेनजी पुस्ताको आह्वानमा देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा मृत्यु भएकाप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दछ । बैठकले मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको काम गर्दै निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने छ,” उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले घटनाको नैतिक जिम्मेवारी दिँदै गृहमन्त्रीले राजीनामा दिइसकेकाले अरू मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था नरहेको प्रस्ट पार्नुभयो । यस्तै प्रधानमन्त्रीको राजीनामा सकडबाट माग्दैमा तत्काल दिइहाल्नु पर्छ भन्ने नरहेको उहाँले बताउनुभयो ।

खुले सामाजिक सञ्जाल

मन्त्री गुरुङले जेनजी पुस्ताले सामाजिक सञ्जाल सुचारु गर्नेलगायतका माग राखेकाले तत्काल खुला गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले जेनजी पुस्तालाई देश र जनताप्रति जिम्मेवार भई आफ्ना विरोधका कार्यक्रम फिर्ता लिन आह्वान गर्नुभयो । मन्त्रालयको जिम्मेवारी समालेको १४ महिनादेखि सामाजिक सञ्जाल नियमन गर्न आफू लागि परेको बताउँदै मन्त्री गुरुङले नेपालमा सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको औँल्याउनुभयो ।

“हामीले सामाजिक सञ्जाल नियमन गर्न आह्वान गरेका हौँ । धेरै पटक सूचीकृत हुन आग्रह गरेका थियौँ । हामीले धेरै पटक भर्चुअल मिटिङ ग¥यौँ,” उहाँले भन्नुभयो, “तर उनीहरू सामाजिक सञ्जाल सञ्चालकले तेरो देशमा ‘करप्सन’ छ । तेरो देशको रेगुलेसनको ट्रान्सपरेन्ट छैन ।

यसो हुँदा तिमीहरूको देशमा सामाजिक सञ्जाल स्टाबिलिस गर्ने, दर्ता गर्ने कार्य हुँदैन भनेर अटेर गरे । योबिचमा सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर नियमन गर्न फैसला गरेपछि निष्क्रिय बनाएर निर्णय कार्यान्वयन मात्रै गरेका थियौँ ।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *