अमेरिका–युरोप–एशियाली दूतावासहरूको नेपाल घटनाप्रति दुःख

 अमेरिका–युरोप–एशियाली दूतावासहरूको नेपाल घटनाप्रति दुःख

काठमाडौं । नेपालमा पछिल्ला दिनमा देखिएका प्रदर्शन र त्यसक्रममा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित नौ मुलुकका दूतावासहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्। अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनाले उत्पन्न गरेको गम्भीर अवस्थाप्रति गहिरो संवेदनशीलता जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।”

दूतावासहरूले पीडित परिवारजन र प्रभावित व्यक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।

यस्तै, उनीहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सभा गर्ने अधिकारलाई विश्वव्यापी मानवअधिकारका रूपमा पुनः स्मरण गराउँदै त्यसको पूर्ण संरक्षण गर्न आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ।”

संयुक्त वक्तव्यमार्फत दूतावासहरूले सबै पक्षलाई संयमित हुन र परिस्थितिलाई थप बिग्रिन नदिने खालको व्यवहार अपनाउन आह्वान गरेका छन्। साथै, देशमा उत्पन्न परिस्थितिको शान्तिपूर्ण समाधानका लागि संवाद र संवेदनशीलतापूर्ण व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय समुदायले नेपालमा स्थायित्व, शान्तिपूर्ण राजनीतिक अभ्यास र मौलिक अधिकारहरूको सम्मानलाई सधैं प्राथमिकता दिएको उल्लेख गर्दै दूतावासहरूले नेपालमा अहिलेसम्म भएको प्रजातान्त्रिक अभ्यासलाई सकारात्मक मान्यता दिएको पनि विज्ञप्तिमा उल्लेख छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *