बालेन साहको समर्थन: अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्की
काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले जेन–जी आन्दोलनले प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, “देश अहिले फरक परिस्थितिमा छ। तपाईंहरू सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। अन्तरिम सरकारको मुख्य काम निर्वाचन गराउने र नयाँ जनादेश दिलाउने हो। यसका लागि सुशिला कार्की नै उपयुक्त नाम हो।”
उनले युवापुस्तालाई संयमित हुन र धैर्य राख्न आग्रह गर्दै भनेका छन्, “तपाईंहरूको जोश र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुनेछ नै, कृपया हतार नगर्नुहोस्।”
साहले राष्ट्रपतिलाई समेत ध्यानाकर्षण गराउँदै संसद् विघटन गरी अन्तरिम सरकार गठनमार्फत जेन–जी आन्दोलनको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्न माग गरेका छन्।

