ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री

गृह र कानुन मन्त्रीमा ओमप्रकास अर्याल – 1
काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएकी छिन्। उनले आइतबार अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी छन्।
अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेर चर्चामा आएका कानुनी व्यक्तित्व हुन्। जनहितका मुद्दामा सक्रिय रहेका उनले हालसम्म विभिन्न कानुनी लडाइँ लड्दै आएका छन्।
उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत रहिसकेका छन्। कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा समेत उनी सक्रिय रहँदै राष्ट्रपति कार्यालयमा भएको छलफलदेखि शपथ समारोहसम्म सहभागी भएका थिए।
यसअघि नै प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिसकेकी थिइन्।
खनालले केही समयअघि केपी ओली नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उनले तत्कालीन आर्थिक चुनौती र दीर्घकालीन सुधारका लागि व्यावहारिक मार्गचित्र प्रस्तुत गरेका थिए।
त्यस्तै, घिसिङ विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा नेपाललाई लोडसेडिङमुक्त गराएको उपलब्धिका कारण चर्चित छन्। उनी केही महिनाअघि मात्रै तत्कालीन सरकारले प्राधिकरणबाट हटाएको थियो।
जेन–जी आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएसँगै कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि नियुक्त गरिएको हो।
प्रधानमन्त्री पदको शपथसँगै प्रतिनिधिसभा विघटन भइसकेको छ भने आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा पनि भइसकेको छ।