जेनजी आन्दोलन : अख्तियारमा पनि तोडफोड, तर सबै फाइल सुरक्षित

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका धेरै सरकारी निकाय तोडफोड र आगजनीको शिकार बने।
सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) समेत आन्दोलनकारीको निशानामा परेको छ।
आयोगको काठमाडौँ टंगालस्थित प्रधान कार्यालयमा भदौ २४ गते साँझ सवा ५ बजे प्रदर्शनकारीसँगै घुसेका केही समूहले लक्षित गरेर तोडफोड र आगजनी गरेका थिए। उनीहरूको मुख्य उद्देश्य भ्रष्टाचारसँग सम्बन्धित फाइलमा पहुँच पुर्याउने रहेको पाइएको छ।
तर, आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सबै फाइल सुरक्षित रहेको स्पष्ट पारेका छन्।
‘यहाँ रहेका सम्पूर्ण भ्रष्टाचारका फाइल सुरक्षित छन्,’ प्रवक्ता पौडेलले भने, ‘मुख्य लक्ष्य फाइल नष्ट गर्ने भए पनि त्यहाँसम्म उनीहरू पुग्न सकेनन्।’
आन्दोलनका क्रममा आयोगको ७४ वटा मोटरसाइकल, १७ वटा जिप, कार, भ्यान तथा ३ वटा बस पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस्तै, पुस्तकालय र प्रशासन महाशाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
प्रधान कार्यालय मात्र नभई आयोगका अन्य कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्।
-
पोखरा कार्यालय पूर्णरूपमा ध्वस्त
-
हेटौँडा कार्यालय मा ७५ प्रतिशत क्षति
-
बर्दिवास, सुर्खेत, नेपालगञ्ज र महेन्द्रनगर कार्यालय मा सामान्य क्षति
त्यस्तै, प्रमुख आयुक्त प्रेमकुमार राई को घरलाई समेत आन्दोलनकारीले निशाना बनाउन खोजेका थिए। काठमाडौँ उपत्यकामा रहेको उनको घरमा तोडफोड प्रयास भए पनि स्थानीयवासीको प्रतिकारपछि ठूलो क्षति हुन पाएन।
प्रवक्ता पौडेलका अनुसार, अख्तियारका सम्पूर्ण संरचना र सामग्रीमा ठूलो क्षति पुगे पनि संस्थागत कामकाज निरन्तरता दिइसकिएको छ ।
‘संस्थागत निरन्तरतामा अवरोध आउन दिने छैनौं,’ पौडेलले भने, ‘फाइल सुरक्षित भएकाले अनुसन्धान र कारबाहीमा कुनै समस्या आउनेछैन ।