बागमतीलाई पर्यटकीय गन्तव्य बनाउन १५ वर्षे रणनीतिक योजना
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।
बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो ।
उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ । रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवद्र्धनमा केन्द्रित रहनेछ ।
दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा अघि बढाइनेछ ।
प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्छन् ।
योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।
