नेपालको कृषि रूपान्तरणका लागि नयाँ पुस्तक सार्वजनिक
काठमाडौं, असोज २४ । नेपालको कृषि प्रणालीलाई आधुनिक र दीगो बनाउन उद्देश्य राखी तयार गरिएको पुस्तक ‘Agriculture Sector Transformation in Nepal’ सार्वजनिक गरिएको छ। विश्वप्रसिद्ध प्रकाशन गृह Springer Nature मार्फत प्रकाशित उक्त पुस्तकले नेपालको कृषि क्षेत्रका चुनौती र सुधारका उपायबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको छ।
१८ महिनासम्मको अनुसन्धान र छलफलपछि तयार गरिएको पुस्तकमा ६१ जना लेखक र ३७ जना समीक्षकको सहभागिता रहेको छ। पुस्तकका सम्पादकहरूमा डा. दिनेश पाण्डे, डा. विष्णुराज उप्रेती, डा. प्रभात खनाल र डा. जगदीश तिम्सिना रहेका छन्।
सम्पादकहरूले पुस्तकमार्फत नेपालमा कृषि शासन प्रणाली कमजोर हुनु, नीति कार्यान्वयन प्रभावहीन हुनु र जलवायु परिवर्तनले उत्पादन प्रणालीमा असर पार्नु जस्ता विषयहरू औंल्याएका छन्। उनीहरूको भनाइमा, करिब ६५ प्रतिशत जनसंख्या कृषि व्यवसायमा संलग्न भए पनि यस क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशतभन्दा कम रहेको छ।
डा. पाण्डेका अनुसार सतही सुधारले मात्र कृषि क्षेत्रको समस्या समाधान हुन नसक्ने भएकाले अब ‘पूर्ण कृषि रूपान्तरण’ आवश्यक छ। “कृषि अब केवल खेतीपाती होइन, यो ग्रामीण अर्थतन्त्र र दीगो विकासको मेरुदण्ड हो,” उनले भने।
पुस्तक २४ अध्यायमा विभाजित छ । यसमा नीति, अनुसन्धान, उत्पादन प्रणाली, बजार सुधार र सुशासनसम्बन्धी विषय समेटिएका छन्। पुस्तकले सरकारलाई उच्चस्तरीय कृषि पुनर्संरचना समिति गठन गर्न सिफारिस गरेको छ, जसमा विज्ञ, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रतिनिधि र किसानको सहभागिता रहनेछ।
डा. विष्णुराज उप्रेतीले महिलाको भूमिसम्मको पहुँच र युवाको कृषि उद्यममा सहभागिता वृद्धि नगरी दीगो विकास सम्भव नहुने बताएका छन्। उनले भने, “महिलालाई समान अवसर र स्रोतको पहुँच दिइनु कृषि रूपान्तरणको प्रमुख आधार हो।”
पुस्तकले भारत र चीनबीचको भू–राजनीतिक सन्तुलनका सन्दर्भमा नेपालले कृषि स्वाधीनता कायम गर्न नीति पुनर्विचार गर्नुपर्ने सुझाव पनि दिएको छ। साथै, डिजिटल विस्तार, कृषि शिक्षा सुधार र बजारमुखी नीति अपनाउनुपर्ने सिफारिस गरिएको छ।
Springer Nature द्वारा प्रकाशित पुस्तक विश्वभरका अनुसन्धानकर्ता, नीति निर्माता र विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा उपलब्ध छ। पुस्तक अनलाइन https://link.springer.com/book/10.1007/978-3-031-91717-2 मा पढ्न सकिन्छ।
