इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् ।
बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ जस्तो देखिएको उल्लेख गरे ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिकाको प्रशंसा गरे । हमासले गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार मध्यान्हसम्ममा रिहा गर्नुपर्ने समयसीमा छ । ट्रम्प सोमबार नै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ ।
हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यसैबीच, इजरायलले करिब २५० प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीहरूलाई रिहा गर्नुपर्नेछ ।
ट्रम्पले आफ्नो शान्ति वार्ता कौशलको प्रशंसा गर्दै भने, ‘म युद्ध समाधान गर्नमा निपुण छु । म शान्ति स्थापना गर्नमा निपुण छु ।’ उनले गाजा भ्रमण गर्ने इच्छा व्यक्त गर्दै आगामी दशकहरूमा गाजा एउटा ‘चमत्कार’ बन्ने विश्वास व्यक्त गरे ।
