वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ

वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीरमा कार्यरत ढुण्डीराजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख २० हजार ८ सय ५० रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई नियमानुसार भुक्तानी गर्ने क्रममा ढुण्डीराजले घुस रकम लिई कार्यकक्षमै लुकाएर राखेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो।
आयोगको टोलीले आइतबार उनलाई घुसवापतको नगदसहित एक वटा मोबाइल र अन्य सम्बन्धित कागजातसहि नियन्त्रणमा लिएको हो।
‘निजलाई कार्यकक्षमै पक्राउ गरी थप अनुसन्धानका लागि आयोगको नियन्त्रणमा राखिएको छ,’ पौडेलले भने।