देशभर पाँच हजारभन्दा बढी कैदीबन्दी अझै फरार, सरकारले नियन्त्रणका लागि नयाँ कदम चाल्यो

 देशभर पाँच हजारभन्दा बढी कैदीबन्दी अझै फरार, सरकारले नियन्त्रणका लागि नयाँ कदम चाल्यो

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म नौ हजार आठ जना फरार कैदीबन्दी पुनः कारागारमा फर्किएका छन् भने बाँकी फरारलाई नियन्त्रणमा लिनका लागि सरकार थप प्रभावकारी कदम चाल्दैछ ।

आइतबार गृहमन्त्री स्तरीय बैठकले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन ठोस निर्णय गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सम्बन्धित कारागार कार्यालयहरूबाट प्राप्त फरार कैदीबन्दीको नामावली गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका प्रमुख निकायमा पठाइनेछ ।

त्यसैगरी, फरार कैदीबन्दीको विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिने तयारी पनि गरिएको छ । साथै, ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् पनि सूचना संप्रेषण गरी खोजतलासलाई तीव्र पारिने विभागको भनाइ छ ।

सरकारले फरार कैदीबन्दीहरूलाई चाँडै नियन्त्रणमा ल्याउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *