सिड्नीमा “अनेसास मुक्तक महोत्सव २०२५” तथा देउसी–भैलो कार्यक्रम हुने

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स राज्य, अस्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती तथा शुभ दीपावलीको अवसर पारेर “अनेसास मुक्तक महोत्सव २०२५” र देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ।
अनेसास न्यु साउथ वेल्सका अध्यक्ष डा. प्रकाश पौडेलका अनुसार कार्यक्रम आगामी अक्टोबर १८, शनिबार, अपरान्ह २:०० देखि ५:०० बजेसम्म ब्ल्याकटाउनस्थित प्रिशा क्याटरिङ, १० थर्ड एभिन्युमा हुने छ।
कार्यक्रमको उद्देश्य नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र अग्रज साहित्यकारप्रति सम्मान व्यक्त गर्नु रहेको बताइएको छ। कार्यक्रममा विभिन्न कविहरूले आफ्ना रचनाहरू वाचन गर्नेछन् भने नेपाली बालबालिकाले मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन्। साथै, रमाइलो देउसी–भैलो कार्यक्रम पनि रहनेछ।
डा. पौडेलले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली कवि तथा साहित्यकारहरूलाई आफ्ना सिर्जनासहित कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। इच्छुक सहभागीहरूले संस्थाको आधिकारिक इमेल वा व्यक्तिगत सन्देशमार्फत नाम टिपाउन सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने यसलाई सफल बनाउन से एजुकेशन एण्ड भिसा सर्भिसेस र एभरेष्ट ट्राभल्स एण्ड टुर्सले सहकार्य गरेका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कात्तिक कृष्ण औंसी (लक्ष्मीपूजाका दिन) काठमाडौंको डिल्लीबजारमा भएको थियो। बाल्यकालमै साहित्यप्रतिको रुचि बढाएका देवकोटाले १० वर्षको उमेरमा कविता लेख्न थालेका थिए। उनको ख्यातिप्राप्त कृति मुनामदन नेपाली भाषाको सबैभन्दा बढी बिक्ने पुस्तक मानिन्छ।
परदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अनेसासले अस्ट्रेलियासहित विश्वका विभिन्न देशहरूमा नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको छ।