समृद्धि स्कुलमा ‘स्टीम एक्जिभिसन’ — विद्यार्थीका नविन सोच र सिर्जनशीलता प्रदर्शन

काठमाडौँ, वनस्थली । काठमाडौँको वनस्थलीस्थित वालाजु चोकमा रहेको समृद्धि स्कुलमा ‘स्टीम एक्जिभिसन–२०८२’ भएको छ । विद्यालयको आयोजनामा सुरु भएको उक्त प्रदर्शनीको औपचारिक उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो ।
कार्यक्रमको प्रारम्भमा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अतिथिहरु तथा अभिभावकको स्वागत गरेका थिए ।
कार्यक्रमको औपचारिक सत्रमा विद्यालयका प्रिन्सिपल अमित विक्रम सिंजापतिले स्वागत मन्तव्य राख्दै विद्यार्थीको ज्ञान, सीप र व्यवहारिक सिकाइलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीले ठूलो सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले विद्यालयले विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने क्षमता विकास गर्नका लागि ‘स्टीम–आधारित सिकाइ’ विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“हामी विद्यार्थीको सिर्जनशीलतालाई मात्र होइन, उनीहरुको समस्या समाधान गर्ने क्षमतालाई पनि व्यवहारिक रूपमा उजागर गर्न चाहन्छौं,” — प्रिन्सिपल सिंजापतिले भन्नुभयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्याप इन्द्रमणी श्रेष्ठले स्टीम एक्जिभिसनले विद्यार्थीमा सहभागितामूलक सिकाइ, अभ्यास र अनुभवमा आधारित नतिजामुखी शिक्षाको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षालाई कक्षाभित्र सीमित नराखी जीवन उपयोगी बनाउने अभ्यासमा विद्यालयको यस्तो पहल सराहनीय भएको बताउनुभयो ।
“स्टीम प्रदर्शनीजस्ता कार्यक्रमले विद्यार्थीलाई जिज्ञासु, अनुसन्धानमुखी र व्यवहारिक सिकाइतर्फ उन्मुख बनाउँछ,” — प्रमुख अतिथि
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सञ्चालक सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईले स्टीम केवल एउटा विषय होइन, समग्र जीवनशैली र सामाजिक प्रणालीसँग जोडिएको अवधारणा भएको बताउनुभयो । उहाँका अनुसार सिकाइमा विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिकोणीय सहकार्यले मात्र दिगोपनाको सुनिश्चितता हुन्छ ।
“विद्यार्थीले सिकेका कुरा घरमा र समाजमा व्यवहारमा उतार्न पाए मात्र शिक्षाको सार्थकता रहन्छ,” — अध्यक्ष भट्टराई
कार्यक्रमको अन्त्यमा विद्यालयकी वनिता सिंह श्रेष्ठले उपस्थित सबै अतिथि, शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिँदै प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुभयो ।
त्यसपछि सहभागी अभिभावक र आगन्तुकहरूले विद्यार्थीका विभिन्न थिमेटिक प्रोजेक्ट र प्रयोगात्मक नमुनाहरूको अवलोकन गरेका थिए ।
यस वर्षको स्टीम एक्जिभिसनमा ७ वटा भन्दा बढी थिमेटिक प्रोजेक्ट र ९५ भन्दा बढी सहायक प्रोजेक्ट प्रदर्शित गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीले विज्ञान, वातावरण, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, कला, र सामाजिक नवप्रवर्तनसँग सम्बन्धित विभिन्न प्रयोग र नविनतम सोचका प्रोजेक्ट प्रदर्शन गरेका थिए ।
विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी विद्यार्थीले आफ्ना प्रोजेक्टबारे जानकारी दिँदै अभिभावक र आगन्तुकसँग अन्तरक्रिया पनि गरेका थिए ।
समृद्धि स्कुलले यस्ता शैक्षिक प्रदर्शनीमार्फत विद्यार्थीमा सर्जनशीलता, अनुसन्धान र समस्या समाधान गर्ने क्षमता विकास गर्दै उनीहरुलाई व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ ।