२५ वटा रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । यसअघि शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।