प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि संस्थाहरुलाई निवेदन पेस गर्न निर्वाचन आयोगको आह्वान
Photo:Rajan Kafle
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई निवेदन पेस गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
मंगलबार आयोगले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न चाहने संस्थाहरूले तोकिएको म्यादभित्र निवेदन पेश गर्न सक्ने जनाएको हो।
आयोगका अनुसार राष्ट्रिय संस्थाहरूले काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन सक्नेछन्।
अन्तर्राष्ट्रिय संस्थाहरूका लागि भने निवेदन observer@election.gov.np इमेलमार्फत सन् २०२५ नोभेम्बर १२ भित्र पठाउन सकिनेछ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निवेदनको नमुना आयोगको आधिकारिक वेबसाइट www.election.gov.np बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने भन्दै इच्छुक संस्थाहरुलाई तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको छ।
