एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने
सिन्धुपाल्चोक । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ।
आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए ।
वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयम् उपस्थित थिए ।
उनको संयोजनमा भएको वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरूबीच सहमति जुटेको हो ।
सहमति अनुसार, २०७८ असारमा आएको विनाशकारी बाढीले क्षति पु¥याएका भौतिक संरचना तथा व्यक्तिगत सम्पत्तिको वास्तविक मूल्यांकन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तीन महिनाभित्र गर्न गराइनेछ। मूल्यांकनमा पीडित पक्षका तीन जना प्रतिनिधि समेत रहनेछन् ।
खानेपानीको मुहानसम्म पुग्ने सडकका लागि यसअघि २५ करोड रुपैयाँ मात्र विनियोजन गरिएकोमा अब त्यसलाई बढाएर १ अर्ब रुपैयाँको बजेटसहित बहुवर्षीय ठेक्काबाट निर्माण गर्ने सहमति भएको छ।
