एनपिएलको पहिलो खेलमा जनकपुरमाथि काठमाडौंको सहज जित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो।
जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो।
राम्रो सुरावात गरेको काठमान्डुका बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन र आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाए। भीम सार्की ३ रनमा आउट भए।
बलिङमा चम्किएका मिलिन्द कुमारले २२ बलमा १ छक्काको मद्दतमा १९ रन बनाए। मिलिन्द कुमार आउट भएपछिको अर्को ओभरको पहिलो बलमा जोन सिमसन पनि १३ रनमा अनिलकुमार साहको एलबिडब्लूको धरापमा परेका थिए।
तर आदिल अन्सारी ४ बलमा १ छक्काको मद्दतमा नटआउट ८ रन बनाउँदा काठमान्डु दुई ओभरमा बाँकी छदै लक्ष्य पूरा गर्यो।
बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिए।
