श्रीलङ्कामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु, संकटकाल घोषणा
काठमाडौ। श्रीलङ्कामा शक्तिशाली चक्रवात दितवाहका कारण मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ । चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि राजधानी कोलम्बोका केही भागमा तीव्र रूपमा पानी बढिरहेको छ ।
देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन् । हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।
प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज बनाउन अधिकारीहरूले ९१९ वटा सुरक्षा आश्रय केन्द्र स्थापना गरेका छन् ।
