स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ
काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस शुक्रबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ।
असंख्य गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो।
उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै छन्।
उहाँको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्‘’, ‘अल्झेछ क्यारे पछ्यौरी‘’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।
मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।
