सिटी सफारी चालक हत्या प्रकरण: तन्त्रमन्त्रको कारण योजनाबद्ध हत्या
काठमाडौँ । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
गत असोज २५ गते शनिबार साँझ प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक, रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए । सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गराएको देखिएको प्रहरीले जनाएको छ । सोही योजनाअनुसार रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
सुनसरी र सप्तरीको विभिन्न ठाउँबाट पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछका क्रममा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले बताएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ । सुनसरी जिल्ला अदालतबाट यही मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
