उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएकामा सन्तोष व्यक्त गरे। उनले संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा नेपाल र कतारले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर सहकार्य प्रशंसनीय रहेको बताएका छन।
उनले हालैका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताए। कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरेका छन।
‘नेपाली श्रमिकहरूले कतारको अर्थतन्त्रमा पुर्याएको योगदान र नेपालमा रहेका परिवारलाई सहयोग गर्दै नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएकामा खुसी व्यक्त गर्दछु,’ उनले भने, ‘नेपाल सरकार सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न प्रतिबद्ध छ ।’
नेपाल र कतारबीचको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले काठमाडौँ र दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
कतारको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुसी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे ।
