रवि र छविको मुद्दा सुनुवाइका लागि आज पेशी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला समेत आजै आउन सक्छ ।
यसअघि मंसिर २५ गतेको पेशी हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो । त्यसअघिको सुनुवाई लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए। रिटमा कात्तिक २७ गरे भएको सुनुवाइमा अदालतले मुल अभियोगको सक्कल मिसिल झिकाउने आदेश दिएको थियो।
