चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु
काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।
निकुञ्जका कार्यालयका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका र पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने छ। त्यसैगरी एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको र उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको कार्यालयले बताएको छ । निकुञ्जका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ ।
हरेक चाररचार वर्षमा बाघ गणना गरिँने छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो ।
सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।
