योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्छ: शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्ने बताएका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएकाले मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने उनको भनाइ छ ।
भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उनको भनाइ छ । योग ध्यानलाई गाउँगाउँमा पुर्याउनको लागि सबैले प्रयास गर्नुपर्ने उनले बताए ।
योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको पुनले बताए । योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रूपमा अघि बढाउनेबारे कुरा उठाएको उनको भनाइ छ ।
