नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा १७औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न बैँक तथा वित्तीय संस्था सम्मानित

 नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा १७औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न बैँक तथा वित्तीय संस्था सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले आफ्नो १७औँ वार्षिकोत्सव पुस ८ गते, २०८२ मा औपचारिक कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका सम्माननीय उप–गभर्नर बाम बहादुर मिश्र प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघका अध्यक्षहरू, NCHL का पूर्व अध्यक्ष तथा सञ्चालकहरू, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, अर्थ मन्त्रालय तथा मातहत निकाय, अध्यागमन विभागका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, अन्तर्राष्ट्रिय साझेदार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा पुस ८, २०६५ मा स्थापना भएको NCHL ले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ तथा सेटलमेन्ट प्रणाली विकास गर्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको हो।

वि.सं. २०६८ मा म्यानुअल चेक क्लियरिङलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न NCHL-ECC सञ्चालनमा ल्याएसँगै NCHL ले डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको थियो।

पछिल्ला १७ वर्षको अवधिमा NCHL ले NCHL-ECC, NCHL-IPS, Retail Payment Switch, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI), NEPALPAY QR, NPIx, EFT Card Switch लगायतका आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याइसकेको छ।

हालै राष्ट्रिय भुक्तानी स्विच (NPS) अन्तर्गत National Card Switch र नेपालको आफ्नै राष्ट्रिय कार्ड योजना NEPALPAY Card पनि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको छ।

वार्षिकोत्सव कार्यक्रमका अवसरमा संस्थामा १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। यस वर्ष १० वर्षे सेवा पूरा गर्नुभएका NCHL का भुक्तानी प्रणाली प्रमुख छवि सापकोटा सहितका कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो।

साथै, संस्थाको स्थापना तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व अध्यक्षहरू अनिल केशरी शाह (संस्थापक अध्यक्ष) र अशोक एस.बी.जे. राणा (तेस्रो अध्यक्ष) लाई नेतृत्वदायी तथा दूरदर्शी भूमिकाका लागि सम्मान गरिएको थियो।

कार्यक्रममा NCHL ले विभिन्न नवीन डिजिटल भुक्तानी समाधानहरू पनि सार्वजनिक गरेको छ। सिद्धार्थ बैंक लिमिटेड सँग सहकार्यमा डिजिटल मोबाइल बैंकिङ समाधानको ‘सफ्ट लन्च’, नबिल बैंक लिमिटेड सँग CORPORATEPAY 2.0 को सुरुवात, माछापुच्छ्रे बैंक लिमिटेड सँग Cards Central System सञ्चालन तथा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड सँग तेस्रो पक्ष नेट सेटलमेन्ट उपकरण सञ्चालनमा ल्याइएको जानकारी दिइयो।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा डिजिटल भुक्तानी प्रणालीको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा अन्य अप्रत्यक्ष सदस्यहरूलाई विभिन्न डिजिटल कारोबार उत्कृष्टता अवार्ड अन्तर्गत सम्मान गरिएको थियो।

डिजिटल सरकारी कारोबार प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड लाई विशेष सम्मान प्रदान गरियो। साथै, अनलाइन Electronic Travel Authorization (ETA/eVisa) का लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी प्रणाली सुरु गरेकोमा गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग लाई पनि विशेष सम्मान गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त NCHL सँग हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था प्रत्यक्ष सदस्यका रूपमा आबद्ध छन् भने १०० भन्दा बढी गैर–बैंक संस्था अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा संलग्न छन्।

आर्थिक वर्ष २०८१/८२ मा NCHL मार्फत २११ मिलियन भन्दा बढी कारोबार सम्पन्न भई रु. १८.६० ट्रिलियन बराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कारोबार संख्यामा करिब ६७ प्रतिशत र कारोबार रकममा १९ प्रतिशत वृद्धि हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *