आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

 आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । “आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल ले मुलुकमा पूर्वाधार विकासको अवस्था कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारका लागि संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उहाँले पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालन गर्न नीतिगत तथा संरचनागत वातावरण सहज बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल ले आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रमा समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौतीहरू तथा ती चुनौती सम्बोधन गर्न सरकार र नेपाल राष्ट्र बैंकबाट गरिएका नीतिगत प्रयास तथा दीर्घकालीन सुधारका मार्गचित्रबारे चर्चा गरिएको थियो।

यस अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् पृथ्वीराज लिगल ले कार्यपत्रमाथि टिप्पणी गर्दै कुल राष्ट्रिय बचत बढ्दै गए पनि लगानीको अनुपात अपेक्षाकृत कमजोर रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले बाह्य क्षेत्रको अवस्था सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू कमजोर रहेको टिप्पणी गर्नुभयो। उत्पादनमूलक क्षेत्रमा लगानी नबढेसम्म अर्थतन्त्रमा अपेक्षित सुधार नहुने उहाँको भनाइ थियो।

त्यस्तै, अर्थविद् डा. गोविन्द नेपाल ले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक तथा पूर्वाधार विकासका क्षेत्रमा परिचालन गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। अर्थशास्त्री डा. कल्पना खनाल ले ब्याजदर निरन्तर घट्दै जाँदा पूँजी पलायनको जोखिम बढ्न सक्ने उल्लेख गर्दै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेल ले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न वित्तीय नीति सबल हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा आर्थिक–वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस अवसरमा नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउन नेपाल राष्ट्र बैंकबाट भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *