गत वर्षको नाफाबाट प्रति शेयर ३० रुपैयाँ नगद लाभांश बाँड्दै नेपाल टेलिकम

 गत वर्षको नाफाबाट प्रति शेयर ३० रुपैयाँ नगद लाभांश बाँड्दै नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश दिने भएको छ ।

मङ्गलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत वर्ष दुई अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सञ्चालक समितिबाट पारित भएको लाभांश प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत गराएर आगामी वार्षिक साधारण सभामा लगिनेछ । त्यहाँबाट पारित भएपछि शेयरधनीहरूको बैङ्क खातामा उक्त रकम पठाइनेछ ।

मङ्गलबारकै सञ्चालक समिति बैठकले टेलिकमको १८ औँ वार्षिक साधारण सभा यही ३० पुसमा गर्ने निर्णय गरेको छ । उक्त दिन बिहान ११ बजे राष्ट्रिय सभागृहमा कम्पनीको वार्षिक साधारण सभा आयोजना हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेन्डा तय भएको छ । लेखा परीक्षकको प्रतिवेदन पनि छलफल गरेर पारित गरिने टेलिकमले जनाएको छ ।

वार्षिक साधारण सभा प्रयोजनार्थ २० देखि ३० पुससम्म कम्पनीको शेयर दाखिल खारेजको काम बन्द गरिने छ । १९ पुससम्म कायम शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत वर्ष २०८०/८१ मा पनि ३० प्रतिशत नगद लाभांश दिएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *