नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज मूल्य ५३ हजार रुपैयाँसम्म
काठमाडौँ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाई-फाई ६ राउटर र एपी उपलब्ध गराउने भएको छ ।
जसअनुसार अब वाई-फाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ ।
टेलिकमले पहिले वाई-फाई ५ प्रविधिको सीपीई (कस्टमर प्रिमाइस इक्विपमेन्ट) उपलब्ध गराइरहेकोमा अब वाई-फाई ६ प्रविधिको सीपीई उपलब्ध गराउने भएको छ । यसका साथै पहिलो पटक एपी (एक्सेस पोइन्ट) समेत उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ ।
नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाई-फाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुने र इन्टरनेटको स्पिड पनि तीव्र हुने दाबी टेलिकमको छ । धेरै डिभाइसहरू कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डेटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
टेलिकमका अनुसार ग्राहकहरूका लागि वाई-फाई ६ व्यक्तिगत प्याकेज र प्रिमियम प्याकेजमा उपलब्ध हुनेछ । व्यक्तिगत प्याकेज अन्तर्गत तीन ओटा विकल्प टेलिकमले दिएको छ ।
पहिलोमा इन्टरनेट र टेलिफोन प्याकेज वा दोस्रोमा इन्टरनेट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज तथा तेस्रोमा इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिन्छ ।
त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत पहिलोमा प्रिमियम इन्टरनेट प्याकेज मात्रै, दोस्रोमा प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज तथा तेस्रोमा प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने टेलिकमले जनाएको छ ।
यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् । यसका साथै प्रयोगकर्ताले मोबाइल डेटा समेत पाउने छन् । टेलिकमले वाई-फाई-६ सहितको वार्षिक इन्टरनेट प्याकेज मूल्य १४ हजार ५०० रुपैयाँदेखि ५३ हजार ३१९ रुपैयाँसम्म तोकेको छ ।
