प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन रिहा भएका छन्।
तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोले बताएको छ । उनका अनुसार शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचारत छन् । मंसिर १४ गते शेरचनलाई बैंकको केन्द्रीय कार्यालय बबरमहल पक्राउ गरेको थियो ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच देखिएको लेनदेन विवाद चुलिँदा प्रभु बैंक र यसका सीईओ शेरचन पनि छानबिनको दायरामा तानिएका हुन् ।
भट्टचन र लामा लगायतको लागनी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु बैंकको रेमिट्यान्सको सुपर एजेन्ट भएर काम गरेको र रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटीवापतको रकम अपचलन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।
