रसुवा नाका आजदेखि सञ्चालनमा
रसुवागढी नाका नेपाल चीनको सीमा नाका रसुवागढीबाट नेपालतर्फ समान लिएर आउँदै मालबाहक सवारीसाधन । भूकम्पपछि अन्य नाका बन्द भएपछि यस नाका मात्र सञ्चालनमा आएको छ । तस्वीर ः वासुदेव पौडेल, रासस
काठमाडौँ । नेपाल-चीन जोड्ने रसुवा नाका आजदेखि सञ्चालनमा आएको छ । सोही स्थानमा बेलि ब्रिज बनेसँगै दुई देशबीचको सम्बन्ध पुनः सुचारु भएको हो । बिहीबारदेखि नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ ।
गत असारमा आएको बाढीले मितेरी पुल बगाउँदा सामान लिएर आउँदै गरेका नेपालका सयौँ गाडी चीनतर्फ रोकिएका थिए । ६ महिनादेखि चीनमा अड्किएका नेपाली गाडी आजदेखि नेपाल आउन थालेका छन् ।
चीनस्थित हिमताल फुट्दा ठूलो बाढीसहित नाकामा रहेको मितेरी पुल बगाएको थियो भने भन्सार क्षेत्र, निर्माणाधीन सुक्खा बन्दरगाहसमेत प्रभावित भएको थियो ।
खासगरी नेपाल–चीन व्यापार कनेक्टिभिटी जोड्ने मितेरी पुल बगाउँदा दुई देशबीचको व्यापार प्रभावित हुन पुगेको थियो ।
यसको विकल्पमा उपल्लो मुस्ताङबाट विद्युतीय सवारी आयात गर्न थालिएको थियो । तर, अब छोटो र सहज स्थलमार्ग रसुवागढीबाटै अब गाडी लगायतका वस्तु आयात गर्न सकिने भएको छ ।
बाढीले पुल बगाउनेबित्तिकै चिनियाँ पक्षबाटै उक्त स्थानमा बेलिब्रिज बनाउने कार्य थालेको थियो । उक्त कार्य सम्पन्न भएसँगै नेपाल–चीन व्यापार सहज भएको हो ।
