काठमाडौँका निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराइरहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार सबै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । उनले प्रशासनलाई जानकारी दिँदै मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
