किन आवश्यक छ स्किन केयर, छालालाई स्वस्थ कसरी राख्ने ?

 किन आवश्यक छ स्किन केयर, छालालाई स्वस्थ कसरी राख्ने ?

काठमाडौँ । छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो। छालालाई बाहिरी तथा भित्रि कारणहरुले असर गरिरहेको हुन्छ। लगातार घाम बस्नु, धुलो, प्रदुषण घाम, विभिन्न प्रकारका कस्मेटिकहरुको प्रयोग जस्ता बाहिरी कारणले छालालाई असर गरिरहेको हुन्छ।

त्यस मध्य पनि अनुहारको छाला सबैभन्दा धेरै बाहिरी वातारणसँग सम्पर्कमा रहन्छ । अनुहारमा विभिन्न प्रकारका क्रिमको प्रयोग, अन्य अंगको छालाको तुलनामा अनुहारको छाला पातलो र संवेदनशील हुनु जस्ता कारणले अनुहारको छालामा अन्य अंगको छालाको तुलनामा बढी समस्या आउने गर्छ।

अनुहारमा फेसवास वा साबुन कुन प्रयोग गर्ने र कुन समयमा गर्ने 
साबुनमा अल्कालाइन नामक तत्व हुने भएकोले यसको प्रयोगले अनुहारमा रहेका फोहोर तत्व मात्रै नभई प्राकृतिक रुपमा रहेको चिल्लोपनालाई पनि फोहोरसँगै लैजान सक्छ। त्यसकारण साबुनको प्रयोगले अनुहारको छालालाई सुख्खा पार्ने, डन्डीफोरको समस्या ल्याउने हुन सक्छ। त्यसकारण अनुहारको छालाको लागि साबुनको प्रयोग त्यति राम्रो मानिदैन। फेसवासमा मोस्चराइजर पनि राखिएको हुनाले अनुहारमा साबुनको सट्टा फेसवासको प्रयोग गर्नु राम्रो मानिन्छ।

तर छालामा धेरै र कडा खालको फेसवासको प्रयोग भने राम्रो मानिदैन। सकेसम्म छालाको प्रकृति अनुसार छाला रोग विशेषज्ञको सल्लाहमा फेसवासको प्रयोग गर्नु छाला स्वास्थ्यका लागि राम्रो हो। छालाको प्रकृति अनुसार दैनिक एक पटक फेसवासको प्रयोग र मुख धुनु राम्रो हो।

विज्ञापनका आधारमा कस्मेटिकको प्रयोग बढी हुने गर्छ कस्ता खाल्का स्किन कियर सामाग्री प्रयोग गर्ने
पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विज्ञापनका आधारमा विभिन्न प्रकारमा कस्मेटिक तथा क्रिमहरुको प्रयोग गर्ने गरेको पाइन्छ। यसरी छाला रोग विशेषज्ञको सल्लाह बिना नै यस्ता सामग्रीहरुको प्रयोग गर्नु छालाका लागि हानिकारक हो। यस्ता सामग्रीहरुले छालामा सुख्खापना, एलर्जी, पातलो बनाउने लगायतका समस्या देखिन सक्छ। कतिपय कस्मेटिकमा क्यान्सर गराउने तत्वहरु पनि मिसावट गरिएको हुन सक्छ।

छालालाई स्वस्थ र चम्किलो राख्नका लागि सन्तुलित भोजन तथा जीवनशैली पनि उतिकै महत्वपूर्ण मानिन्छ। यसका साथै पर्याप्त पानी, निन्द्रा, तनावमुक्त जीवनशैली, रक्सी तथा चुरोटको सेवन नगर्नु पनि छालाको स्याहारका लागि उतिकै महत्वपूर्ण हुन्छ। यसका साथै छाला रोग विशेषज्ञको सल्लाहमा क्रिम तथा मोस्चराइजरको प्रयोग गर्नुपर्छ। छाला राम्रो र चम्किलो बनाउनका लागि विभिन्न प्रकारका घरेलु उपायहरु दही, कागती, बेसार लगायतको प्रयोग छालाका हानिकारक हुन सक्छ। छोटो समयका लागि त्यसले छाला चम्किलो बनाए पनि दीर्घकालीन रुपम भने फाइदाजनक हुँदैन।

छालामा एन्टी एजिङ ट्रिटमेन्ट प्रविधि
छालालाई बुढ्यौली ढिलो गराउनका लागि पछिल्लो समय एन्टी एजिङ ट्रिटमेन्ट प्रविधिको विकास गरिएको छ।उमेरसँगै छालामा आउने चाउरीपना कम गराउनका लागि यो प्रविधिको प्रयोग हुन्छ। छालालाई बुढ्यौलीसम्म पनि राम्रो बनाउनका लागि ३० वर्ष पुगिसकेपछि नै विस्तारै एन्टी एजिङ ट्रिटमेन्ट प्रविधिको प्रयोग गर्नुपर्छ। यद्यपि छालाको स्याहारका लागि स्वस्थ जीवनशैली र व्यायाम पनि उतिकै महत्वपूर्ण छ।

चायाँ, पोतो तथा डन्डीफोरको समस्या
महिलाहरुमा गर्भवती भएपछि चायाँ,पोतो, डन्डीफोरजस्ता समस्या आउन सक्छ। कतिपयमा डेलिभरी पश्चात् उक्त समस्या हराउँदै गएपनि कतिपयमा भने रहिनै रहन्छ। घामको विकिरणका कारण पनि यस्तो समस्या आउन सकछ भने कतिपयमा शरीरको आन्तरिक समस्या कारण पनि यस्तो समस्या आउन सक्छ।जथाभाबीरुपमा कस्मेटिकहरुको प्रयोग छालामा हुँदा पनि यस्तो समस्या आउन सक्छ। यद्यपि कतिपयमा वंशाणुगत कारणले पनि यो समस्या आउँछ। चिल्लो छाला,तनावपूर्ण जीवनशैली जस्ता कारणले पनि कसैमा डन्डीफोर धेरै आउने समस्या हुन्छ।

जाडोयाम र छालाको समस्या
चिसोमा हाम्रो छाला धेरै सुख्खा हुने गर्छ। यो समयमा बढी मात्रामा तातो पानीको प्रयोग गरिन्छ। तातोपानीको बढी प्रयोगले छालालाई अझै बढी सुख्खा बनाउँछ। त्यसकारण राम्रोसँग मोस्चराइजरको प्रयोग, नरिवलको तेलको प्रयोग, भित्रि लुगा सुतीको लगाउने, पर्याप्त मात्रामा पानीको खाने गर्नुपर्छ। जाडोमा छालामा सोरासिस्, हातगोडा सुन्निने, एलर्जी, विन्टर एक्जीमा, चायाँ जस्ता समस्या बढी देखिन्छ। यी सबै समस्याहरुलाई कम गर्नका लागि राम्रो मोस्चराइजर, तेल तथा अनिवार्य रुपमा सन क्रिमको प्रयोग गर्नुपर्छ।

छालाको स्याहारका लागि छुट्याउन नहुने काम
छाला मानव शरीरको अभिन्न अंग हो। मानिसको परिचय नै अनुहार भएकोले अन्य अंगको तुलनामा अनुहारको छालामा विशेष ध्यान जाने गर्छ।स्वस्थ छाला भनेकै चमक भएको छाला हो। त्यसकारण उमेर अनुसार तथा छाला रोग विशेषज्ञको सल्लाहमा अनुहारमा क्रिमको प्रयोग गर्न सकिन्छ। जुनसुकै मौसममा पनि सनब्लक क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ। त्यसका साथै सन्तुलित भोजन,सागपात,फलफूल लगायतको प्रयोग छालाका लागि राम्रो मानिन्छ। यसका साथै स्वस्थ जीवनशैलीको पनि महत्वपूर्ण हुन्छ।

छाला तथा यौनरोग विशेषज्ञ डा. प्रशान्ना राज श्रेष्ठ

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *