एआई र डिजिटल सेवाबाट कृषि विकास बैंकको नयाँ यात्रा सुरु : सिइओ गुरुङ (भिडियो सहित)
कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कठिन अवस्थाकाबीच बैंकले आफ्नो वित्तीय सूचकहरुलाई सुधारको बाटोमा अगाडि बढाएको बताउनुभएको छ ।
बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत गुरुङले चालु आर्थिक वर्ष २०८२|८३ को पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रु. ३ खर्ब २४ अर्ब भन्दा धेरै पुगेको र कुल कर्जा लगानी तर्फ रु २ खर्ब ३० अर्ब भन्दा बढि रहेको जानकारी दिनुभयो ।
बैंकको निष्कृय कर्जा अनुपात ४ दशमलव ५२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
यसअघि आर्थिक वर्ष २०८१|८२ मा बैंकले ३।७३ अर्ब खुद नाफा आर्जन गर्न सफल भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा २८.६२ प्रतिशतले बढी हो ।
वार्षिकोत्सवको अवसरमा सीईओ गुरुङले साना कृषक र उद्यमीहरूका लागि १ मिनेटमा नै निःशुल्क व्यावसायिक योजना बनाइदिने सफ्टवेयरको शुभारम्भ गरिएको बताउनुभयो ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई प्राथमिकता दिँदै बैंकले २४ सै घण्टा सेवा दिने च्याटबोट र एआईमार्फत कर्जा प्रशोधन र विश्लेषण गर्ने रणनीति अघि सारेको उहाँले बताउनुभयो ।
गुरुङले ूकृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति अनुसार बैंक अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कृषि क्षेत्रमा मात्र केन्द्रित गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । साथै, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि चिया, कफी, अलैँची र अदुवा खेती जस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाइएको उहाँको भनाइ थियो ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा २७५ शाखा र २२ वटा एक्सटेन्सन काउन्टरमार्फत २१ लाख ५० हजारभन्दा बढी बचतकर्तालाई सेवा दिइरहेको छ ।
