कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल रूपान्तरण र कृषि कर्जामा जोड
कृषि विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५९औँ वार्षिकोत्सव मनाएको छ ।
कृषि क्षेत्रमा कर्जा लगानी गर्ने अग्रणी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँग कदम मिलाउन नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याउनु भयाे ।
हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उहाँले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्न सफल भएको दावी गर्नुभयाे ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिनुभयाे ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँकाे भनाइ थियो ।

बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्मको पाँच वर्षे रणनीतिक व्यवसायिक योजना कार्यान्वयनमा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो।
नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशनको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताउनुभयाे।
व्यवसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकका रूपमा आफूलाई स्थापित गर्न कृषि विकास बैंक सफल भएको दाबी सिइओ गुरुङले गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ ।
बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरिएको छ ।
आर्थिक सूचकाङ्कका आधारमा, आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई रु २ खर्ब ९३ अर्ब ३५ करोड पुगेको छ भने कर्जा प्रवाह ८.४० प्रतिशतले वृद्धि भई रु २ खर्ब २४ अर्ब पुगेको छ ।
सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशत रहेको थियो भने खुद नाफा रु ३ अर्ब ७३ करोड पुगेको बैंकले जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकको कूल निक्षेप रु ३ खर्ब २४ अर्ब ९७ करोड र कूल कर्जा प्रवाह रु २ खर्ब ३० अर्ब २७ करोड पुगेको छ । सो अवधिसम्म निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा ४.५२ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।
डिजिटल प्रविधिको प्रयोग, कृषि क्षेत्रमा केन्द्रित कर्जा नीति तथा वित्तीय सुदृढतासँगै कृषि विकास बैंकले नेपालको बैंकिङ तथा कृषि विकासमा आफ्नो भूमिका अझ मजबुत बनाउँदै अघि बढिरहेको छ

