नेकपाको घोषणा पत्र उत्पादन र रोजगारी केन्द्रित हुन्छ : नेता गुरुङ

 नेकपाको घोषणा पत्र उत्पादन र रोजगारी केन्द्रित हुन्छ : नेता गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि आफ्नै पार्टीले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेण्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको र त्यसलाई केन्द्रित गरेर नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताएका हुन्।

उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने पनि बताए। ‘नेपाली अर्थतन्त्र उत्पादनमुखी बनाउन हामीले जोड दिएका छौँ। आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ’, उनले भने।

गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने जानकारी गराए। ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उनको दाबी छ।

डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने उनले बताए। विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्रमा ल्याउने दाबी उनको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *