मतदानमा गोपनीयता कायम राख्न झापा प्रशासनको अनुरोध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग के कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँले बताए ।
त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ ९द० बमोजिम आचारसंहिता उलंघन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
