दैनिक मागभन्दा बढी ग्यास आयात, उपभोक्तालाई ढुक्क रहन निगमको आग्रह
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बजारमा कुनै अभाव नरहने र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज पार्ने स्पष्ट पारेको छ ।
दैनिक करिब ९० बुलेट -१ लाख १४ हजार सिलिण्डर) एलपी ग्यास आवश्यक पर्ने नेपालमा पछिल्ला तीन दिनमा भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आवश्यक मात्रामा ग्यास लोडिङ भएको छ।
निगमले शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको हो। तीमध्ये केही बुलेटहरू नेपालतर्फ आउने क्रममा रहेका र छिट्टै देशभित्र प्रवेश गर्ने जनाएको छ।
सम्बन्धित निकायका अनुसार हाल ग्यास आपूर्ति सहज अवस्थामा रहेको छ। उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गर्दै चुनाव अवधिभर पनि एलपी ग्यासको आपूर्ति निरन्तर रहने स्पष्ट पारेको छ।
