पाकिस्तानको बलुचिस्तानमा भीषण आक्रमण, २५० भन्दा बढीको मृत्यु
काठमाडौं । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा हालै भएका श्रृंखलाबद्ध आक्रमणपछि सरकारी सुरक्षा बलले अहिलेसम्म करिब २०० पृथकतावादी विद्रोही मारिएको दाबी गरेको छ ।
यस हिंसात्मक संघर्षमा कुल मृतकको संख्या २५० नाघेको छ । सुरक्षा अधिकारीहरूका अनुसार गत सप्ताहान्तदेखि सुरु भएका आक्रमणहरूमा विद्रोहीहरूले बैंक, कारागार, प्रहरी चौकी र सैन्य ठेगानाहरूलाई निशाना बनाएका थिए, जसका कारण धेरै जिल्लाहरूमा झडप जारी छ ।
सैन्य अभियानमा १९७ लडाकु, ३६ सर्वसाधारण, २२ सुरक्षाकर्मीलगायत अन्यको मृत्यु भएको एक वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका छन् ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले प्रभावित सबै जिल्लाहरूलाई विद्रोहीमुक्त गरिएको र सुरक्षा बलले गुप्तचर सूचनाका आधारमा थप कारबाही अघि बढाइरहेको बताए । उनले चेतावनी दिँदै भने, “हामी उनीहरूलाई यत्तिकै सजिलै उम्कन दिने छैनौँ ।”
यी भीषण आक्रमणहरूको जिम्मेवारी बलुचिस्तानमा सक्रिय सबैभन्दा शक्तिशाली पृथकतावादी संगठन ‘बलुच लिबरेसन आर्मी’ले लिएको छ, जसलाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरिसकेको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यी आक्रमणहरूको कडा निन्दा गर्दै यसलाई घृणित र कायरतापूर्ण कार्य भनेको छ । परिषद्ले पीडित परिवार र पाकिस्तान सरकारप्रति समवेदना समेत व्यक्त गरेको छ । इनडेक्स जर्नलबाट ।
