अपर रिचेत हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ आउँदै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौँ । गोरखाको धार्चेमा २ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको अपर रिचेत हाइड्रोपावर प्राईभेट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
कम्पनीले आफ्नो शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गर्दै दुई संस्थाबीच द्विपक्षीय सम्झौता सम्पन्न गरेको हो।
राजधानीमा आयोजित एक समारोहका बीच अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।
यस सम्झौतासँगै अब कम्पनीको शेयर निष्काशनको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी आरविवि मर्चेन्टले सम्हाल्नेछ।
कम्पनीले आफ्नो कुल ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको साधारण शेयर बजारमा ल्याउन लागेको हो ।
जसअनुसार निकट भविष्यमा सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गरिनेछ। शेयर निष्काशनको पूर्वतयारी स्वरूप कम्पनीले आफूलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने र क्रेडिट रेटिङको प्रक्रियालाई समेत तीव्र गतिमा अगाडि बढाएको जानकारी दिएको छ।
विगत २०८१ साल भदौदेखि नै व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेको यस कम्पनीले आगामी साउन वा भदौ महिनाभित्रै सर्वसाधारणका लागि आईपीओ खुल्ला गर्ने लक्ष्य राखेको छ।
गोरखाको धार्चेमा अवस्थित यो आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेकाले पनि लगानीकर्ताहरूका लागि यो आईपीओ आकर्षक हुने कम्पनीको विश्वास छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भावी योजना र शेयर निष्काशनको तयारीबारे सर्वसाधारणलाई सूचित गराएको हो।
