मुस्ताङमा पर्यटकको लर्को: सात महिनामा ३ लाख २५ हजारको आगमन

 मुस्ताङमा पर्यटकको लर्को: सात महिनामा ३ लाख २५ हजारको आगमन

काठमाडौँ । धार्मिक तथा प्राकृतिक पर्यटनको संगमस्थल मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि माघ मसान्तसम्म कुल ३ लाख २५ हजार ५५८ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्डको स्तरोन्नतिसँगै मुस्ताङमा पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । तथ्यांकअनुसार भित्रिएका पर्यटकमध्ये २ लाख ५२ हजार ६६४ नेपाली र ६९ हजार ८१४ जना विदेशी रहेका छन् ।

मुस्ताङमा विशेषगरी दशैं-तिहारको समयमा पर्यटकको अत्यधिक चाप देखिएको छ । प्रहरीको तथ्यांक अनुसार असोज र कात्तिक सबैभन्दा बढी (क्रमशः ७५ हजार ५९९ र ८३ हजार ७६६) पर्यटक भित्रिएका छन् ।

अन्य महिना साउनमा १९ हजार, भदौमा २३ हजार, मङ्सिरमा ४९ हजार, पुसमा ३९ हजार र माघमा ३२ हजार पर्यटकले मुस्ताङ टेकेका छन् ।

गत वर्षको तुलनामा सामान्य गिरावट
तथ्यांकलाई केलाउँदा गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमनमा ५.३३ प्रतिशत (१८,१७१ जना) ले कमी आएको देखिएको छ । गत वर्षको सात महिनामा ३ लाख ४० हजार ७२९ पर्यटक मुस्ताङ पुगेका थिए ।

कहाँ कस्ता पर्यटक ?
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार पर्यटकको गणना म्याग्दी-मुस्ताङ सीमा ‘घाँसा’ पोखरा-जोमसोम हवाई मार्ग र मनाङ हुँदै ‘थोरङलापास’ बाट आउने बिन्दुहरूमा गर्ने गरिएको छ ।

सार्क राष्ट्रबाट आउने अधिकांश पर्यटकको मुख्य उद्देश्य मुक्तिनाथ दर्शन रहने गरेको छ ।

नेपाली पर्यटकहरू कागबेनीमा श्राद्ध गर्न, मुक्तिनाथ दर्शन गर्न र पछिल्लो समय चीनको सिमाना कोरला नाकासम्म पुग्न निकै उत्साहित देखिएका छन् ।

करिब ३ प्रतिशत विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङको ऐतिहासिक र सांस्कृतिक वैभव नियाल्न लोमान्थाङ पुग्ने गरेका छन् ।

सडक सञ्जालको सहजताले गर्दा आगामी महिनाहरूमा विशेषगरी चैते दशैं र नयाँ वर्षको समयमा पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

मुस्ताङमा आव २०८१-८२ मा सात लाखभन्दा बढी पर्यटक भित्रिएर रेकर्ड कायम भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *