झापाबाट ओलीको दाबी: ६० वर्षमा भ्रष्टाचार गरिनँ, देशको माया गर्दा घेराबन्दी भयो
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दशक लामो राजनीतिक यात्रामा कहिल्यै भ्रष्टाचार र कमिसनको खेलमा नलागेको दाबी गरेका छन्। आइतबार गृहजिल्ला झापामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सधैँ देश र जनताको हितमा उभिँदा शक्ति केन्द्रहरूको निशानामा परेको जिकिर गरे।
अध्यक्ष ओलीले राष्ट्रियता र विकासका काम गरेकै कारण आफूमाथि चौतर्फी प्रहार भइरहेको बताए। ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, म कमिसनखोर होइन,’ उनले भने, ‘मिचिएको भूभाग फिर्ता ल्याउने, उत्तरतिरका नाका खोल्ने र हुलाकी राजमार्ग बनाएर मधेसको अर्थतन्त्र उकास्ने काम गरेकै कारण ममाथि झुटा लाञ्छना र अपमानजनक प्रहार भइरहेको छ।’
झापा–५ मा आफ्ना मुख्य प्रतिस्पर्धी तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहप्रति लक्षित गर्दै ओलीले अनुभवहीन व्यक्तिलाई देश सुम्पन नसकिने बताए। ‘एउटा नगरपालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन सकिँदैन,’ उनले आक्रोश व्यक्त गरे, ूदेश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ होइन। असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गरेर देशलाई कमजोर पार्न खोजिएको छ।’
एमाले मात्रै देशको रक्षा गर्नसक्ने शक्ति भएको दाबी गर्दै उनले भने, ‘एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी होइन। हामी देशको एक–एक इन्च भूमिको रक्षा गर्छौँ।’ उनले जात, धर्म र भूगोलका नाममा नेपालीलाई विभाजित गर्ने तत्वहरूको विरुद्ध आफू सधैँ अडिग रहने समेत बताए।
