जनताको खबरदारी स्वीकार्छौँ, नयाँ ढंगले अघि बढ्छौँ: वर्षमान पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा फेरि धुलो टक्टकाएर उठ्ने बताएका छन्।
काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतीमा अनाबरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताउँदै अहिलेको हारले विचलित नहुने अपील गरे।
फागनु २१ गते भएको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ सिट मात्र जितेको थियो। नेकपा नराम्रोसँग हारेको अस्थामा पुनले जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गर्ने भन्दै कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरुले गर्ने दाबी गरे।
आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरुलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे। ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं। त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं। तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो। हामी पुरानो हौं, तर उस्तै खालका पुराना होइनौं। हामीले अवस्था बदल्न कोसिस गरेकै हौं। फेरि जनतामा जान्छौं’, पुनले भने, ‘कुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठूलठूला बलिदान, क्षति र हार भए। तर नेतृत्वले हार मानेन। हामीले हार मानेनौं। हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरुलाई एकपटक ठण्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ।’
जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरुलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए। पुनले जनताले गरेको खदरदारीलाई सच्चिनका लागि दिएको अवसरका रुपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे।
कुनै बेला देशभर जम्मा ६० जना पूर्णकालिन कार्यकर्ता लिएर प्रचण्डले जनयुद्धको नेतृत्व थालेको स्मरण गर्दै उनले धेरै मानिसले जनयुद्धबाट परिवर्तन गर्छौैं भन्दा मुर्खता ठानेको चर्चा गर्दै त्यही जनयुद्धले गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता उपलब्धी हासिल भएको बताए। ६० जनाले थालेको जनयुद्धमा हजारौं किसान, मजदुर, बुद्धिजिबी र आमजनताले समर्थन गरेर ठूलो रुपमा लिएको भन्दै उनले फेरि रुपान्तरित भएर मुलुकको नेतृत्व लिने पार्टी निर्माणमा लाग्न सबैलाई अपिल गरे।
