सानिगाड हाइड्रोपावरको आईपीओ खुल्यो

 सानिगाड हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौं । सानिगाड हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले पहिलो चरणमा चैत ८ गते आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुने ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न विवरणपत्र स्वीकृत गराएको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो । आईपीओ निष्कासनको लागि स्वीकृति पाएकोमध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशतले हुने २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन खुला गरेको हो । आयोजना प्रभावितलाई निष्कासन खुला भएको सेयरमध्ये अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका वडा नं. ४ (साविकको खिरातडी गा.वि.स. वडा नं. ८ समेत), त्यस्तै हालको बुंगल न.पा. वडा नं. २ (साविकको दहबगर गा.वि.स. वडा नं. ६ समेत) तथा बुंगल न.पा. वडा नं. १ (साविकका दहबगर गा.वि.स. वडा नं. २ समेत) का स्थानीयलाई १८ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख ५२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । त्यस्तै आयोजना प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिकाको वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयलाई ९ करोड ९७ लाख ५० हजार रुपैयाँले हुन आउने ९ लाख ९७ हजार ५०० कित्ता सेयर छुट्याएर निष्कासन खुला गरेको हो । यस्तै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ५७ लाख कित्ता सेयरको १० प्रतिशतले हुन आउने ५ लाख ७० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन खुला गरेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा २०८३ बैशाख ७ गतेसम्म आवेदन दिने म्याद थप हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ र उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा आवेदन दिने म्याद चैत २२ गतेसम्म थप हुनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले ३८.४६ मेगावाटको काललंगागाड जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ र प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *