संसद् सचिवालयको तयारी पूरा: बहुउद्देश्यीय हलबाटै सुरु हुँदै नयाँ प्रतिनिधिसभा

 संसद् सचिवालयको तयारी पूरा: बहुउद्देश्यीय हलबाटै सुरु हुँदै नयाँ प्रतिनिधिसभा

काठमाडौं । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ तथा प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मंगलबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी दिँदै सचिवालयले बहुउद्देश्यीय हलमै प्रारम्भिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्पष्ट पारेको हो।

संसद् भवनको मुख्य हल अझै निर्माण सम्पन्न नभएकाले प्रारम्भिक चरणका सबै बैठकहरू बहुउद्देश्यीय हलमै बस्ने व्यवस्था गरिएको छ। यसका लागि सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन, महासचिव तथा सचिवालयका लागि छुट्टै स्थानको तयारी गरिएको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

त्यस्तै बहुउद्देश्यीय हल नजिकै कार्य व्यवस्था शाखा, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष तथा सभामुखको कार्यकक्षसमेत अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। सचिवालयका अनुसार संसद्को पहिलो अधिवेशनका अधिकांश बैठकहरू पनि यही हलबाट सञ्चालन हुने सम्भावना देखिएको छ।

यद्यपि बहुउद्देश्यीय हलबाट संसद् सञ्चालन गर्दा व्यवस्थापन र सञ्चालनमा विभिन्न जटिलता आउन सक्ने भन्दै सचिवालयले सम्बन्धित निकायलाई संसद् भवन निर्माण कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरेको छ।

नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम यही चैत १२ गते सोही बहुउद्देश्यीय हलमा आयोजना हुने तय गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *