विश्व क्षयरोग दिवस: नेपालमा अझै ठूलो चुनौती, वार्षिक १६ हजारको मृत्यु हुने अनुमान
man patients with respiratory or lung diseases, bad air, dust, tuberculosis, lung cancer, emphysema, cough from the flu, and viral infections. Double Exposure with lungs
काठमाडौं– मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसको अवसरमा नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको तथ्य पुनः उजागर भएको छ। वार्षिक करिब १६ हजार मानिसको मृत्यु हुने अनुमानसहित बिरामी संख्या बढ्दो रहे पनि यसको नियन्त्रणका लागि सरकार र सरोकारवाला निकायका प्रयासहरू जारी छन्।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार बिरामी पहिचान गर्नुपर्ने भए पनि हाल करिब ४० हजार मात्र पत्ता लागिरहेका छन्। बाँकी बिरामी पहिचानबाहिर रहँदा संक्रमण फैलिने जोखिम उच्च छ।
यद्यपि पछिल्लो समय जीन एक्सपर्ट, ट्रु-न्याट र एआई पोर्टेबल एक्स–रे जस्ता आधुनिक प्रविधिको प्रयोगले रोग पहिचान प्रक्रिया सहज र छिटो बनाएको छ। यस्ता प्रविधिको विस्तारसँगै प्रारम्भिक चरणमै बिरामी पत्ता लगाउने सम्भावना बढ्दै गएको छ।
सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार समयमै पहिचान र पूरा अवधि औषधि सेवन गरे क्षयरोग पूर्ण रूपमा निको हुने रोग हो।
क्षयरोग नियन्त्रणमा सामाजिक लाञ्छना, स्रोत अभाव र कार्यान्वयन चुनौती भए पनि सरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र समुदायबीचको सहकार्यले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।
विश्व क्षयरोग दिवसले समस्या मात्र होइन, समाधानका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याउँदै ‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई थप सशक्त बनाउने सन्देश दिएको छ।
