राष्ट्रपतिद्वारा राम नवमीको शुभकामना दिँदै पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त

 राष्ट्रपतिद्वारा राम नवमीको शुभकामना दिँदै पर्वले राष्ट्रिय एकतालाई  थप सुदृढ बनाउने विश्वास व्यक्त

काठमाडौँ । राम नवमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्। उनले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषा, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच आपसी समझदारी र भाइचाराको भावना बढाउने उल्लेख गरेका छन्। यस्ता पर्वहरूले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

हरेक वर्ष चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रूपमा यो पर्व मनाउने परम्परा रहेको छ। यस दिन विशेष पूजा, व्रत, अनुष्ठान र जप गर्ने प्रचलन रहँदै आएको छ, जसबाट मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

रामनवमीलाई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा विशेषगरी रामजानकी मन्दिरसहित देशका विभिन्न स्थानमा भव्य मेला लाग्ने गर्दछ, जसले हाम्रो प्राचीन धर्म, संस्कृति र सभ्यताको संरक्षणमा टेवा पुर्‍याउँदै आएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *