ट्रम्पद्वारा इरानमाथिको सैन्य आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानसँग वार्ता जारी रहेको जनाउँदै यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए। समयसीमा सकिन लागेपछि उनले ऊर्जा संरचनामा आक्रमण गर्ने योजना अप्रिलको पहिलो सातासम्म सारिएको बताएका छन्।
अमेरिकाको सम्भावित आक्रमणको जवाफमा इरानले मध्यपूर्वका पूर्वाधारमा व्यापक प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ। यसबीच पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामका लागि पहल गरिरहेको जनाइएको छ।
ट्रम्प प्रशासनका विशेष दूत स्टिभ विटकोफले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पठाइएको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताएका छन्। प्रस्तावमा परमाणु कार्यक्रम सीमित गर्ने, अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थालाई युरेनियम बुझाउने तथा मिसाइल कार्यक्रम नियन्त्रण गर्ने सर्तहरू समावेश छन्।
यद्यपि इरानले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रतिप्रस्ताव अघि सारेको छ। उसले भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी, क्षतिपूर्ति, अमेरिकी सेना फिर्ता तथा स्ट्रेट अफ हर्मुज प्रयोगबापत शुल्क लिन पाउनुपर्ने सर्त राखेको बताइएको छ।
