सर्पले डसेर युवतीको मृत्युपछि नगरपालिका कडा बनेको घोषणा कृष्णपुर नगरपालिका मा छाउगोठ भत्काउने अल्टिमेटम :

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र अनिवार्य रूपमा भत्काउन आदेश दिएको छ।
नगरपालिकाको यो कठोर निर्णय २८ वर्षीया कमला आउजीको दर्दनाक मृत्युपछि आएको हो।
महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी कमला आउजीलाई शुक्रबार साँझ सर्पले डसेको थियो। बाँया गालामा डसेको सर्पको विषका कारण उनी गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएकी थिइन्। तर, उपचारका क्रममा शनिबार साँझ ८ बजे उनको ज्यान जाँदा कृष्णपुर नगरपालिकासहित सम्पूर्ण स्थानीय तह र नागरिक समाजमा शोक र आक्रोश फैलिएको छ।
नगरप्रमुख हेमराज ओझाले अनलाइनखबरसँग कुरा गर्दै नगर क्षेत्रमा लामो समयदेखि छाउपडी हटाउने अभियान चलाए पनि परम्परा अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताए।
‘हामी निरन्तर अभियानमा थियौं, सचेतनामूलक कार्यक्रम पनि गर्दै थियौं,’ उनले भने, ‘तर दुःखद रूपमा कमला आउजीको मृत्युले हामीलाई अझ कठोर निर्णय लिन बाध्य बनाएको छ।’
नगरपालिकाले अब १५ दिनभित्र नगरभित्र रहेका छाउगोठ अनिवार्य रूपमा भत्काउन आदेश दिएको छ। तोकिएको समयावधि बितेपछि पनि छाउगोठ नहटाए कारबाहीको चेतावनीसमेत दिएको छ।
छाउपडीलाई अपराधका रूपमा व्याख्या गर्दै सरकारले कानुनी प्रावधानसमेत लागू गरिसकेको छ। तर, अझै पनि देशका विभिन्न भागमा पुरानो कुप्रथा जीवितै छ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली क्षेत्रका ग्रामीण समुदायमा छाउपडी प्रथा कायमै रहेको तथ्यांकले देखाएको छ।
नगर प्रमुख ओझाले नगरपालिकाले छाउपडी अन्त्यका लागि स्थानीय महिला समूह, युवाहरु, विद्यालय र नागरिक समाजसँग मिलेर थप अभियान सञ्चालन गर्ने योजना बनाएको बताए।
‘महिनावारी जैविक प्रक्रिया हो, यसको लागि महिला माथि शारीरिक र मानसिक यातना दिने परम्परा अन्त्य गर्न हामी दृढ छौं,’ उनले जोड दिए।
कमला आउजीको मृत्युपछि कृष्णपुर नगरपालिका मात्र होइन, छाउपडीको अन्त्यका लागि सबै सरोकारवालाले अझ बलियो आवाज उठाउनुपर्ने आवश्यकता देखिएको छ।
नगरपालिकाले दिएको १५ दिने म्यादले अब कञ्चनपुर क्षेत्रभित्र छाउगोठका अवशेषलाई हटाउन र आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।