रेसुङ्गामा एक महिने साउने मेला सुरु, धार्मिक आस्था र पर्यटनको संगम

 रेसुङ्गामा एक महिने साउने मेला सुरु, धार्मिक आस्था र पर्यटनको संगम

गुल्मी, साउन १ — गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गा धाममा आजदेखि एक महिने साउने मेला सुरु भएको छ। साउन महिनाभर चल्ने यस मेलामा रेसुङ्गा संरक्षण समितिको आयोजनामा दैनिक पूजा, धार्मिक प्रवचन र दर्शनका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

 वर्षझैं यस वर्ष पनि भक्तजनहरूको बाक्लो उपस्थिति पहिलो दिनदेखि देखिएको छ। विशेषगरी साउन १ गते, साउने औँसी र एकादशीका दिन यहाँ विशेष मेला लाग्ने परम्परा रहेको छ।

रेसुङ्गा धाम गुल्मीको सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडी यात्रा र केही समयको पैदल यात्रापछि पुग्न सकिने रमणीय गन्तव्य हो। साउन महिनामा यहाँको पोखरीमा स्नान गरी पापमोचन गर्ने धार्मिक विश्वास रहेको छ, जसले भक्तजनहरूलाई आकर्षित गर्छ।

धार्मिक इतिहास र पौराणिक कथा जोडिएको रेसुङ्गा

वेद–पुराण अनुसार रेसुङ्गा धाम सिद्धभूमि र तपोभूमि हो। यहाँ ऋषि श्रृङ्ग, रामचन्द्र, यदुकानन्द लगायतका महर्षिहरूले तपस्या गरेको उल्लेख छ। अयोध्याका राजा दशरथले संतान प्राप्तिका लागि पुत्रेष्टि यज्ञ गर्न श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएको धार्मिक आख्यान पनि यही रेसुङ्गासँग जोडिएको मानिन्छ।

प्राकृतिक सौन्दर्य र पर्यटक आकर्षण

रेसुङ्गा २३४० मिटरको उचाइमा अवस्थित छ। यहाँबाट धवलागिरि, मनास्लु, र अन्य हिमश्रृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। भ्यू टावर, शीतल मौसम, जैविक विविधता, २५८ प्रजातिका चराहरू, चितुवा, मृग, खरायो, घोरललगायतका वन्यजन्तुहरू यस क्षेत्रको आकर्षण हुन्।

रेसुङ्गा क्षेत्र वन, पोखरी, कुण्ड, पँधेरा, मठ–मन्दिर, यज्ञशाला, पाटीपौवाले भरिएको धार्मिक र सांस्कृतिक सम्पदा हो।

‘जाउँ हिंड रेसुङ्गा’ अभियान सुरु

गुल्मीको रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिंड रेसुङ्गा’ अभियान सुरु गरेको छ, जसको उद्देश्य एक लाख पर्यटक रेसुङ्गामा ल्याउने रहेको छ। नगरपालिकाले शैक्षिक भ्रमण, होमस्टे प्रवर्द्धन, पदयात्रा मार्ग निर्माण, प्रचार–प्रसार र संरचनागत पूर्वाधारको विकासमार्फत धार्मिक पर्यटनलाई तिव्रता दिने योजना लिएको छ।

रेसुङ्गाको सांस्कृतिक, पौराणिक, ऐतिहासिक र पर्यटकिय महत्त्वलाई जोड्दै साउन महिनाको मेला एक प्रमुख धार्मिक उत्सवका रूपमा विस्तार हुँदै आएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *